एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा सिन्धुली अस्पतालको शल्यक्रिया सेवा करिब एक महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। यसका कारण बच्चा जन्माउने (CS), पित्तथैली, एपेन्डिक्स लगायतका सामान्य अप्रेसनसमेत हुन नसकी बिरामीलाई काठमाडौं र जनकपुर रिफर गर्नुपर्ने अवस्था आएको छ। हालै भिमानमा दुर्घटनामा खुट्टा भाँचिएका फिक्कलका सुदिप अधिकारीलाई पनि जिल्लामै उपचार हुन नसकी काठमाडौं पठाउनुपरेको थियो। अस्पतालमै करिब १० हजार रुपैयाँमा हुने उपचारका लागि बिरामीले एम्बुलेन्स खर्च मात्र पनि त्यति नै तिर्नुपरेको अवस्था छ। पछिल्लो एक वर्षमा सिन्धुली अस्पतालमा ५०० भन्दा बढी अप्रेसन भएका थिए। तर अहिले एक जना विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्। सम्बन्धित निकायले तत्काल एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल विजयी
सिन्धुली । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धीलाई ३१४० मतान्तरले पराजित गर्दै जीत हासिल गर्नुभएको हो।
लामो समयदेखि वामपन्थी दलको प्रभाव मानिँदै आएको सिन्धुली–२ मा यसपटक नयाँ राजनीतिक परिणाम देखिएको छ। यसअघि ‘लालकिल्ला’का रूपमा चिनिने उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई स्थानीय राजनीतिक वृत्तमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
विजयी भएपछि गजुरेलले सिन्धुलीका नागरिकले दिएको विश्वासलाई सम्मान गर्दै क्षेत्रको विकास, सुशासन र जनताका मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नवनिर्वाचित सांसद आशिष गजुरेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

Comments
Post a Comment